वि.सं:
नेपाल संवत: ११४५ कौलाथ्व सप्तमी - ७
नागरिक वडापत्र
१. यस कार्यालयबाट प्रदान गरिने सेवाहरुः-
क. प्रचलित कानून बमोजिम निकासी वा पैठारी हुन आउने मालवस्तुलाई निकासी वा पैठारी गर्न अनुमति दिने ।
ख.निकासी वा पैठारी गर्नका लागी प्रचलित कानूनले तोकेको राजस्व संकलन गरी नेपाल सरकारको राजस्व खातामा जम्मा गर्ने,
ग. यस कार्यालयबाट हुने निकासी वा पैठारीसँग सम्बन्धित अन्य विविध कार्यहरु गर्ने,
घ. अवैध रुपमा हुने निकासी वा पैठारीलाई नियन्त्रण गर्ने,
ङ. व्यापार सहजीकरण र नियन्त्रणका बिच सन्तुलन कायम गरी निकासी पैठारी कार्यलाई सहज बनाउने
२. निकासी वा पैठारी गर्दा ध्यान दिनुपर्ने कुराहरुः-
क. प्रचलित कानूनले प्रतिबन्ध लगाएका बाहेक अन्य मालवस्तुहरु निकासी वा पैठारी गर्न सकिनेछ । तर मुल्य अभिवृद्धि करमा दर्ता नगरिकन रु. १० हजारभन्दा बढी मुल्यका व्यापारिक प्रयोजनका मुल्य अभिवृद्धि कर लाग्ने मालवस्तु पैठारी गर्न पाईने छैन ।
ख. परिमाणात्मक बन्देज लागेका वा ईजाजत पत्र लिएर मात्र पैठारी वा निकासी गर्न सकिने भनी कानूनले तोकेको मालवस्तुको हकमा सोही बमोजिम हुनेछ । यस प्रकारका मालवस्तु आवश्यक प्रकृया पुरा नगरी वा पैठारी हुन आएमा सम्बन्धित व्यक्तिलाई कारण खुलाई जानकारी गराईनेछ ।
ग. निकासीकर्ता वा पैठारीकर्ता भन्सार कार्यालयमा आफै उपस्थित भई मालवस्तु जाँचपास गराउन सक्नेछ । आफै उपस्थित हुन नसक्ने भएमा भन्सार विभागबाट भन्सार एजेन्टको ईजाजतपत्र प्राप्त भन्सार एजेन्ट नियुक्त गरी निज मार्फत भन्सारसँग सम्बन्धित काम गराउन सकिन्छ । यसरी भन्सार एजेन्ट नियुक्त गर्दा भन्सार नियमावली, २०६४ को नियम ३८ का उपनियम (४) बमोजिम नियुक्त गर्नु पर्नेछ । सामान्य अधिकारपत्र दिएर वा तोकिएको ढाँचा विपरित अधिकारनामा दिएर अन्य व्यक्ति मार्फत काम गराउन पाईने छैन ।
घ. मालवस्तु जाँचपास गराउनका निमित्त निकासीकर्ता, पैठारीकर्ता वा निजहरुबाट नियमानुसार नियुक्त भन्सार एजेन्टले भन्सार नियमावली, २०६४ को नियम २१ मा उल्लेख भए बमोजिमका कागजातहरु संलग्न गरी नियम २२ बमोजिमको प्रज्ञापनपत्र पेश गर्नुपर्नेछ । भन्सार नियमावली अध्ययन गर्न वा अन्य जानकारी लिन चाहेमा भन्सार विभागको बेभसाईटः www.customs.gov.np हेर्ने र डाउनलोड गर्न सकिनेछ ।
ङ. प्रज्ञापनपत्रका लागी भन्सार हाता भित्र व्यवस्था गरिएका आशिकुडा कम्प्यूटर प्रणालीमा आवश्यक विवरण प्रविष्ट गरी प्रज्ञापनपत्र मुद्रण गर्न सकिनेछ । तर आफ्नै कारोबारस्थलमा विवरण प्रविष्ट गरी यस कार्यालयको कम्प्यूटर सर्भरमा रजिष्टर गर्न चाहेमा सो सुविधा समेत कार्यालयले प्रदान गर्नेछ । यसका लागी आवश्यक प्रयोगकर्ताको नाम र पासवर्ड यस कार्यालयको सुचना प्रविधि शाखामा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।
३. मालवस्तु जाँचपास गराउनका लागी प्रज्ञापनपत्र साथ निम्न बमोजिमका कागजातहरु पेश गर्नुपर्नेछ ।
क. भारत बाहेक अन्य मुलुकबाट मालवस्तु पैठारी गर्दाः-
१. मालवस्तुको विल विजक (Commercial Invoice)
२. मालवस्तुको सम्वेष्टन सुची (Packing List)
३. मालवस्तुको उत्पत्तीको प्रमाणपत्र (Certificate Of Origin)
४. भुक्तानी प्रकृया सम्बन्धी बैंकिङ्ग कागज र सोको सम्बन्धित बैंकबाट जारी भएको विदेशी विनिमय नियन्त्रण फाराम नं. ४
५. प्रतितपत्र बाहेक अन्य बैङ्किङ्ग कागजातहरुको आधारमा मालबस्तु पैठारी गरेमा बाणिज्य विभागको सिफारिसपत्र ।
६.मालवस्तु ढुवानी गर्ने ढुवानीकर्ताले जारी गरेको बिल अफ लेडिङ्ग र रेल्वे भरपाई (Railway Receipt), मेनिफेष्ट
७. कलकत्ता स्थित भारतिय भन्सारले प्रमाणित गरेको Transshipment permit
८. कानून बमोजिम कुनै निकायको सिफारिस ईजाजतपत्र वा प्रमाणपत्र आवश्यक पर्नेमा त्यस्तो कागजातहरु
ख. भारतबाट मालवस्तु पैठारी गर्दा
१. मालवस्तुको बिल बिजक (Commercial Invoice)
२. मालवस्तु सम्वेष्टन सुचि (Packing List)
३. मालवस्तु ढुवानीकर्ताको रेल्वे भरपाई(Railway Receipt), मेनिफेष्ट
४. बैङ्किङ्ग प्रणालि अन्तर्गत पैठारी गरेको भए बैङ्किग कागजात र सम्बन्धित बैंकबाट जारी भएको विदेशी विनिमय नियन्त्रण फाराम नं. ४
५. प्रचलित कानून बमोजिम कुनै निकायको सिफारिस ईजाजतपत्र वा प्रमाणपत्र आवश्यक पर्ने भएमा त्यस्ता कागजातहरु
ग. नेपालबाट मालवस्तु निकासी गर्दा
१. मालवस्तुको बिलविजक(Commercial Invoice)
२. मालवस्तु सम्वेष्टन सुचि (Packing List)
३. मालवस्तुको उत्पत्तिको प्रमाणपत्र (Certificate of origin )
४. भारत बाहेक अन्य मुलुकमा निकासी हुने भएमा भुक्तानी प्रकृया सम्बन्धी बैङ्किङ्ग कागजातहरु
५. प्रचलित कानून बमोजिम कुनै निकायको सिफारिस ईजाजतपत्र वा प्रमाणपत्र आवश्यक पर्ने भएमा त्यस्तो कागजातहरु
घ. कुनै फर्म वा बैङ्कले कुनै मालवस्तु निकासी वा पैठारी गर्दा आफ्नो फर्म वा उद्योगको दर्ताको प्रमाणपत्र तथा स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ ।
४. सेवा प्राप्त गर्दा लाग्ने कर महशुल तथा शुल्कहरु
क. निकासी कर्ता वा पैठारी कर्ताको तर्फबाट प्रज्ञापनपत्र पेश गरिसकेपछि भन्सार अधिकृतले प्रज्ञापनपत्रमा नै लाग्ने राजश्व प्रचलित ऐन बमोजिम निर्धारण गरिदिने छन् ।
ख. निर्धारित राजश्व यस कार्यालयमा बुझाएपछि नगदी रसिद भन्सार प्रज्ञापनपत्रको साथमा अनिवार्य रुपमा पेश गर्नुपर्नेछ र यसैलाई राजश्व भुक्तानी गरेको मानिनेछ ।
ग. प्रज्ञापनपत्रमा प्रस्तावित रकम बाहेक अन्य कुनै रकम तिर्नु बुझाउनु पर्ने छैन । कसैले अतिरिक्त रकम माग गरेमा तुरुन्त प्रमुख भन्सार अधिकृत वा भन्सार अधिकृतलाई जानकारी गराउनु पर्नेछ । यस्तो जानकारी प्राप्त हुन आएमा आवश्यक कारवाही गर्नु पर्नेछ ।
घ. कुन कुन मालवस्तुमा कुन दरको महशुल लाग्छ भन्ने कुरा अग्रिम जानकारी आवश्यक परेमा प्रमुख भन्सार अधिकृत वा भन्सार अधिकृतसँग सम्पर्क गरी तुरुन्तै जानकारी गर्न सकिन्छ ।
५. सेवा प्रदान गर्न लाग्ने समयः-
रितपूर्वक प्रज्ञापनपत्र पेश भएपछि भौतिक परीक्षण गर्नुपर्ने मालवस्तु भएमा भन्सार अधिकृतले मालवस्तु जाँच गर्न जाचकी तोकिदिनेछ र मालवस्तुको भौतिक परीक्षण भएपछि राजश्व निर्धारण गरिनेछ । निर्धारित राजश्व अशुली पश्चात तुरुन्त मालवस्तु जाँचपास गरिनेछ । स्तरिय प्याकिङ्ग लिस्ट पुरा भएका अवस्थामा यस्ता प्रकृया पुरा गर्न बढीमा २ घण्टा मालधनीकै कारणले गर्दा ढिलाई भएमा बाहेक र प्याकिङ्ग अस्पष्ट भएमा भौतिक परीक्षणका समयमा मालवस्तुको प्रकृति अनुसार बढी समय पनि लाग्न सक्नेछ ।
६. विविधः-
क) वस्तु वर्गिकरण, मालवस्तुको मुल्याङ्कन र प्राविधिक परीक्षणका गर्ने प्रयोजनका लागि बाहेक मालवस्तुको नमूना (Sample) लिईने छैन ।
ख) यस कार्यालयले प्रदान गर्ने सेवा वा कार्यालयको कार्य सम्पादनमा कुनै ढिलाई वा अनावश्यक झमेला भएको महशुस भएमा जानकारी अविलम्ब प्रमुख भन्सार अधिकृतलाई गराउनुपर्नेछ । यसरी जानकारी गराएमा त्यस्ता समस्या तत्काल सम्बोधन हुनेछ ।
ग) सेवा पाउने सेवाग्राहीहरुको अधिकारलाई यस कार्यालयले सदैव सम्मान गर्नेछ र यसै अनुकुल कार्यालयका कार्यहरु सम्पादन हुनेछन् । आफूले प्रदान गर्ने सेवालाई सहज, सरल, मितव्ययी र पारदर्शि बनाउने यस कार्यालयको प्रतिबद्धता रहेको छ र यसलाई पुरा गर्न सम्पूर्ण सरोकारवाला र सेवाग्राहीहरुबाट यस कार्यालयले सकारात्मक सहयोगको अपेक्षा गरेको छ ।
घ) यसमा उल्लेख नभएका यस कार्यालयको कार्य सँग सम्बन्धित अन्य कुनै कुराको जानकारी लिन चाहेमा प्रमुख भन्सार अधिकृत वा भन्सार अधिकृतसँग सम्पर्क गरी जानकारी लिन सकिने छ ।